


झट्ट हेर्दा उनलाई पहिले कतै देखेझैं लाग्न सक्छ । तर, उनको अग्लो कद र लामो कपालमा अल्मलिन्छन् मानिसहरू । त्यसैले कोही पनि उनीसँग एकैपटक खुल्दैनन् । अन्कनाएर सोध्दा रहेछन्, \'तपाईं \'नुमाफुङ\'को रिकुटे हो ?\'
नाम त उनको रमेश सिंघक हो । तर, नजिकका साथीभाइमाझ मात्र । \'सर्कल\'भन्दा बाहिरकाले त उनलाई \'नुमाफुङ\'को रिकुटे भनेर चिन्छन् ।
फिल्ममा उनको रोल छोटो भए पनि कथाले बिट मार्दा मानिसहरूको मस्तिष्कमा रिकुटे पात्र तैरिरहने हुनाले उनीप्रति धेरैले चासो देखाउँदा रहेछन् । उनको नाम र अनुहारभन्दा उनले अभिनय गरेर प्राण भरिदिएको पात्र रिकुटे बढी जानपहिचान छ ।
फरक हुलियाले गर्दा उनलाई मानिसहरूले एक झलकमा चिन्न नसकेका हुन् । \'नुमाफुङ\' फिल्ममा उनको जुन हुलिया देखिन्छ त्यो अघिपछिको हुलिया होइन । उनी सधैंजसो लामो कपालमा भेटिन्छन् ।
यही कपालले गर्दा गाउँका केटाकेटी उनलाई डुप्लिकेट राजेश हमाल भन्थे । जबकि, लामो कपाल पाल्नु उनको सोख होइन, बाध्यता थियो । शरीर अग्लो र दुब्लो थियो, त्यसमाथि पनि लामो र साँघुरो घाँटी । \'बाटोमा हिँड्ने बेला छायामा घाँटी नै देखिँदैनथ्यो,\' उनी विगततिर फर्किए, \'त्यसपछि कपाल पालेर साँघुरो र लामो घाँटीलाई छोप्न थालेँ ।\'
पछि उनी बिस्तारै मोटाए । घाँटीमा मासु लागेपछि कपाल काट्दा बेढंगको देख्न छाड्यो । तैपनि उनलाई लामो कपाल ठीक लाग्यो र सम्हालिराखे । हिजोआज उनी लामो कपालमै ठाटिन्छन् ।
\'नुमाफुङ\'मा खेल्न मात्र उनले कपाल काटेका थिए । त्यो पनि बडो सास्तीले । निर्देशक नवीन सुब्बा र कास्टिङ डाइरेक्टर अनुप बरालले उनलाई \'अडिसन\'मा कपाल काटेर आउनू भनेर फर्काइदिएका थिए । उनी भने \'रोल पाए मात्र कपाल काट्ने\' जिद्दीमा अड्किए । अभिनय कार्यशालामा उनले कपाल बाँधेर भाग लिए । जब आफू छानिएको खबर पाए तबमात्र उनी हजामकहाँ पुगे ।
\'नुमाफुङ\'ले उनका साथीभाइलाई उनीसँग जिस्किने बहाना जुटाइदियो । साथीभाइ उनलाई सोध्नुको नाममा सोध्थे, \'नुमा खोई त ?\' उनी पनि के कम ? भनिदिन्थे, \'डाइरेक्टरलाई सोध्नू ।\'
तर, यो प्रश्नलाई उनी सधैं हावामा उडाउने गर्दैनन् । कहिलेकाहीँ गम्भीर भएर सोच्छन् । पाँचथर जोरपोखरीको बालाचतुर्दशी मेलामा नुमालाई अन्तिमपटक भेटेको दृश्य सम्झिँदा उनी कहिलेकाहीँ फिल्मकै कथामा हराउन पुग्छन् । लोग्ने गिरिहाङबाट मेलाको भीँडमै अपहेलित भएपछि रोएकी नुमालाई रिकुटेले भगायो भन्ने अनुमान धेरैले लगाउँछन् । उनले कतिपटक आफैंलाई प्रश्न गरेका छन्, \'के साँच्चै नुमालाई रिकुटेले नै भगाएको हो ?\'
रमेशको गाउँ तेह्रथुमको जलजले हो । धेरै भो, उनले गाउँ बस्न छाडेको । उनी कि धरान हुन्छन् कि काठमाडौं । त्यसैले \'नुमाफुङ\'मा जस्तो मेलाको छेको पारेर नुमालाई भेट्न जानुपर्ने अवस्था अहिले छैन । सहरमा सधैं मेला लाग्छ । तर, उनले यी सहरमा अहिलेसम्म कुनै \'नुमा\'लाई भेटेका छैनन् । न फिल्मकी नुमा न आफ्नै जीवनकी \'नुमा\' ।
\'नुमाफुङ\' पछि उनले दुई फिल्म खेले \'मासेमी\' र \'चेसुङ\' । दुवै लिम्बू संस्कृतिमा आधारित । कथित मूलधारका फिल्ममा उनी देखिएका छैनन् । नदेखिनुको कारण के बताउने भन्नेबारेमा उनलाई ठूलो दोधार छ । \'मन छैन\' भनूँ भने उही \'फ्याउरोले अंगुर अमिलो छ\' भनेको किस्सा सम्भिmएर खिसी गर्लान् भन्ने डर उनलाई छ । त्यसैले उनी भनिदिन्छन्, \'अफर नआएर हो ।\'
भर्खरै एउटा चर्चित फिल्ममा उनी छानिइने टुंगो लागिसकेको थियो । तर, अन्तिममा आएर उनले यस्तो जवाफ पाए, \'तपाईंको जिउडाल त राम्रो हो, एक्टिङ पुगेन एक्टिङ ।\' त्यस दिनदेखि फिल्म डाइरेक्टरहरूले खोज्ने एक्टिङ कस्तो
खालको हुन्छ भन्ने खुल्दुलीले उनलाई सताइरहेको छ ।
एक/दुईजना निर्देशकले चाहिँ उनलाई लगानी गर्नुपर्ने सर्त राखे । आफूले खेल्ने फिल्ममा लगानी गर्नुलाई उनी गलत प्रवृत्ति ठान्दैनन् । हलिउड र बलिउडमा समेत यो प्रवृत्ति छ । तर, त्यस्तो सर्त राख्नेको मुख बन्द गर्न भनेर उनले रेडिमेड जवाफ रचेका छन्, \'मलाई कहाँ मेल गिब्सन र आमिर खानसँग तुलना गर्नुभएको ? कृपया, मसँग उनीहरूमा जस्तो ज्ञान छैन ।\' त्यसपछि उनी दुई हात जोडेर बिदा भइदिन्छन् ।
कुनै हुटहुटीले उनी फिल्म खेल्न आइपुगेका होइनन् । हिरो होइन बरू गीतकार बन्ने लहैलहैमा उनी रुमल्लिरहेका थिए । २०५४ सालमा साथी र आफ्ना गीत समावेश गरी उनले \'जीवनयात्रा\' एल्बम निकाले । आफू गीतकार बन्ने रहर र अन्धा गायक कृष्णभक्त राईलाई बजारमा ल्याइदिने चाहनाले गर्दा त्यो एल्बम तयार भएको थियो ।
त्यो एल्बम चलेन । तैपनि उनको गीत लेख्ने जोस सेलाएन । \'फैलियो माया दुबोसरी\' गीत हिट भएपछि सुस्ताइरहेका राजेशपायल राईका लागि उनले र मीना सिंघकले गीत लेखिदिए । ती गीतहरू समेटिएको \'जस्ट फर यू\' एल्बम २०५५ सालमा बजारमा आयो । राजेशको पहिलो हिट एल्बम त्यही बन्यो ।
त्यसपछि उनी र उनका साथीहरू धरानका दीपक लिम्बूलाई गायक बनाउने धूनमा लागे । दीपकको पहिलो एल्बम निकाल्न उनले केही गीत लेखेर रेकर्ड गरिदिए । तर, दीपक \'नेपाली तारा\' घोषित भएपछि त्यो एल्बमको काम बीचमै रोकियो ।
धरानको गीतसंगीतमा उनी हुर्कदै थिए । साइनोले मामा पर्ने प्रेम सुब्बाले उनलाई \'नुमाफुङ\'को अडिसनमा घचेढेर लगे । अडिसनमा भाग लिएपछि फिल्मको ग्ल्यामरतिर उनी तानिए । अनि, \'नुमाफुङ\' खेलेपछि आफूले विगतमा लेखेका गीतहरू सिर्फ \'केटाकेटीको खेल\' रहेछन् भन्ने उनले बुझे । अहिले त उनलाई गीत लेख्नु आफ्नो बुताले नभ्याउने काम हो भन्ने बोध
भइसकेको छ ।
उनी दर्जनभन्दा बढी म्युजिक भिडियोमा देखिइसकेका छन् । तर, पवित्र सुब्बाको \'तिमी तारे भीर, म त लहरा\' गीतको भिडियो अरूभन्दा चर्चामा रह्यो । म्युजिक भिडियो छान्ने मामिलामा समेत उनको आफ्नै ढंग छ । नाम चलेका म्युजिक भिडियो डाइरेक्टरसँग उनले गीत मन नपरेको भरमै काम गर्न नमानेका उदाहरण छन् ।
दुई वर्षअघि एक दिन न्युरोडमा अनुप बरालसँग उनको जम्काभेट भयो । \'नुमाफुङ\'मा उनको कलालाई चिनेर ब्रेक दिने कास्टिङ डाइरेक्टर अनुप नै थिए । अनुपले उनलाई \'एक्टर्स् स्टुडियो\'मा अभिनय सिक्ने निम्तो दिए । उनी तुरुन्त भर्ना भए । तीन महिनाको प्रशिक्षणपछि \'एक्टर्स् स्टुडियो\'का \'भर्चुयल रियालिटी\', \'चोखाउनी\' र \'म्यारिज इन मोसन\' नाटकमा उनले अभिनय गरे ।
भारतका नयाँदिल्ली र बेंग्लोरमा भएका अन्तर्राष्ट्रिय नाटक महोत्सवमा उनले \'भर्चुयल रियालिटी\' नाटकसँगै सहभागिता जनाए । उनले मञ्चमा उभिएर पहिलोपटक नाटक खेलेको २०५० सालमा हो । सुनसरीको तरहरामा नवल नेपालद्वारा निर्देशित \'हत्याराको खोजीमा\' भन्ने नाटकमा उनले प्रहरी चौकीदारको सानो रोल पाएका थिए । त्यो बेला के बुझेर मञ्चमा उभियो, उनलाई सम्झना छैन ।
\'नुमाफुङ\'मा उनले लाहुरेको भूमिका निर्वाह गरेका थिए । तर, आफ्नो जीवनमा भने लाहुरेमा भर्ती हुने इच्छा उनलाई कहिल्यै लागेन । उनका हजुरबा दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट बर्मामा लडेका योद्धा थिए । हजुरबाले नचाहेर पनि होला उनका बुबा र उनी दुवै लाहुरे बनेनन् ।
आफूमाथि गाउँको प्रशंसा गरेको आरोप लाग्ने सम्भावना उनी देख्छन् । तैपनि उनले सुनाइहाले, \'२० वर्षपछि बल्ल अस्ति भर्खर मात्र हाम्रो गाउँबाट एकजना लाहुरे बन्न गयो ।\' आफ्नो गाउँका ठिटाहरू लाहुरे बन्ने लोभमा फस्दैनन् भन्ने उनको मनसाय हो । यसो हुनुमा उनीसँग तर्क छ, \'हाम्रो जलजले गाउँमा खेतीपाती राम्रो हुन्छ ।\'
त्यस्तो गाउँमा नबसेर आफू चाहिँ किन सहरमा नि ? भन्ने प्रश्नको अपेक्षा उनी आफैले गरे, किनभने उनलाई सुनाउनुरहेछ, \'राम्रो फिल्म खेल्ने धोको मेटिन अझै बाँकी छ ।\' सायद, \'नुमा\'को ठेगानासम्बन्धी प्रश्नबाट समेत उनी मुक्त हुन चाहन्छन् ।
दीपेन्द्र लामा
dipendralama@gmail.com
स्रोत: नयां पत्रिका
| पाठक प्रतिक्रिया |
| рд╕рдореНрдкрд╛рджрдХ рдЬреА рдирдорд╕реНрдХрд╛рд░ рдпреЛ рд░рд┐рдХреБрддреЗрдХреЛ рдЦреИ рдХреЗ рднрдирдУреБ рд░рд╛рдЦреЗрдХреЛ рдд резрелрджрд┐рди рд╡реИрд╕рдХреНрдпреЛ рдХрд┐рди рдПрд╕рд░реА рдПрдЙрддреИ рд╕рдорд╛рдЪрд╛рд░ рд╡рдиреМ рдпрд╛ рдордиреЛрд░рдиреНрдЬрди рд╡рдирдУреБ рджреЗрд░реИ рджрд┐рди рд╕рдореНрдорд╛ рд╕реНрддрди рджрд┐рдиреБ рднрдХреЛ рд╣реЛрд▓рд╛ рдирд┐? |
| MOHAN KUMAR SHRESTHA|31-Oct-2008 11:31:13 |
| hi ilaik thes progarm sathai shuva depawli ko mangalmay subha kamana altha hendu harulai,,,,,,,,,,,,,, |
| china dxm|29-Oct-2008 06:50:30 |
| पाठक प्रतिक्रिया | |
|
|