

विश्व हिन्दु भ्रातृत्व सङ्घ (ब्लुएफबी) को २४औँ विश्व बौद्ध सम्मेलन जापानको राजधानी टोकियोमा शुक्रबारदेखि प्रारम्भ भएको छ ।
सम्मेलनको प्रारम्भमा विभिन्न राष्ट्रबाट प्राप्त राष्ट्रप्रमुखको सन्देश वाचन गरिएको थियो ।
उक्त अवसरमा नेपालका राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको सन्देश जापानका लागि नेपालका राजदूत डा. गणेश योञ्जनले पढेर सुनाउनुभएको थियो ।
राष्ट्रपति डा. यादवले सन्देशमा शान्ति, सहिष्णुता, करुणा र मैत्रीमा आदि बुद्धका शिक्षा र जीवनशैली पच्चीस सय वर्षभन्दा अघि प्रतिपादित हुँदाको समयजत्तिकै सान्दर्भिक छ भन्दै तिनले विश्वका बहुसङ्ख्यक पुरुष र नारीका विचार र व्यवहारमा प्रकाश पारेको र प्रेरित गरेको बताउनुभएको छ ।
उक्त सम्मेलनमा विश्व बौद्ध भ्रातृत्व सङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन पनि सम्पन्न भएको छ ।
सो अनुसार उक्त सङ्घको उपाध्यक्षमा नेपालका तर्फबाट धर्मोदयसभाका उपाध्यक्ष तथा संविधानसभाका सदस्य पदमज्योति अत्यधिक मतले विजयी हुनुभएको छ ।
यसैगरी डब्लुएफबीको युवा सङ्घ, डब्लुएफबीवाइको नेपाल क्षेत्रीय केन्द्रका सुरज शाक्य उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सम्मेलनले सन् १९५५ देखि सङ्घमा संलग्न भई सेवा गरेबापत सङ्घका निवर्तमान उपाध्यक्ष लोकदर्शन बज्राचार्यलाई विशेष सम्मानपत्र प्रदान गरिएको धर्मोदय सभाले जनाएको छ ।
सन् १९५० मा स्थापित बौद्ध भ्रातृत्व सङ्घको नेपाल संस्थापक सदस्य हुनाका साथै नेपालका राष्ट्राध्यक्ष उक्त सङ्घको संरक्षक रहने व्यवस्था छ ।
यसअघि उक्त पदमा नेपालका तर्फबाट भिक्षु अमृतानन्द महास्थवीर, मणिहर्ष ज्योति र लोकदर्शन बज्राचार्य पनि निर्वाचित भइसक्नुभएको छ । उक्त संस्थाको चौथो र पन्ध्रौँ सम्मेलन नेपालमा सम्पन्न भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|