

प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को दोस्रो शिखर सम्मेलनमा भाग लिई शुक्रबार राजधानी फ़र्कनुभयो ।
सो सम्मेलनका क्रममा जलस्रोत, पर्यटन, आर्थिक विकास तथा आपसी सम्पर्कलगायतका विषयमा बिमस्टेकका सदस्य देशहरूसँग छलफल भएको र भ्रमण उपलब्धिमूलक भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
बिमस्टेकको पर्यटन केन्द्र नेपालमा स्थापना गर्ने विषयमा सदस्य मुलुकहरूबीच सहमति भइसकेको र त्यसलाई औपचारिक रूप दिन मात्र बाँकी रहेको पनि प्रधानमन्त्री प्रचण्डले सो अवसरमा बताउनुभयो ।
बिमस्टेकको सचिवालय कहाँ राख्ने भन्ने विषयमा टुङ्गोमा पुग्न नसकेको र सचिवालय राख्न श्रीलङ्का र बङ्गलादेशले प्रस्ताव गरे पनि यस विषयमा थप छलफल गरी अर्को मन्त्रीस्तरीय बैठकले टुङ्गो गर्ने सहमति भएको पनि भ्रमणबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
सम्मेलनका दौरान सबै सदस्य देशका नेताहरूसँग अलग अलग विषयमा छलफल भएको र सोही क्रममा भारतका प्रधानमन्त्रीसँग पनि विगतमा आफ़्नो भारत भ्रमणका क्रममा भएको सहमति र त्यसपछिका प्रगतिको बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । त्यस्तै माओवादी जनयुद्धका बेला भारतमा पक्राउ परी मुजफपुर जेलमा रहेका केही माओवादी कार्यकर्ताको अझै रिहाइ नभएकाले त्यसका लागि पहल गर्न आग्रह गरिएको पनि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
भारतीय प्रधानमन्त्रीले भारतीय लगानीमा नेपालमा सञ्चालित युटिएल, डाबर नेपाल तथा सूर्य टोबाकोलगायतका कम्पनीमा देखिएका श्रमिकको समस्या तथा शान्तिसुरक्षाका विषयमा अलिक जोड दिएर कुरा उठाउनुभएको बताउनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|