


जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत
जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत नोवेम्बर १४ देखी १६ सम्म ३ दिन तोःक्योः शहरमा आयोजना भएको २४औँ विश्व बौद्व भातृत्व सम्मेलनमा भागलिन जपान पाल्नु भएका ७ जवान नेपाली बौद्ध प्रतिनिधि मण्डलको सम्मानमा नेवा:जागरणमंच जपान र गैर-आवासिय संगठन जपानको संयुक्त आयोजनामा स्वागत समारोह सम्पन्न भएको छ।
नेपालका प्रथम बौद्ध महासंघ, धर्मोदय सभाका उपाध्यक्ष एवं नेपालका प्रसिद्व उध्योगपतिद्वय, पुर्व सांसद लक्ष्मी दास मानन्धर र वर्तमान संविधान सभा सदस्य माननिय पद्म ज्योति र सदस्यहरुको बौद्ध प्रतिनिधि टोलिको सम्मानमा आयोजित उक्त स्वागत समारोह, नाकामेगुरो स्थित नेपाली रेष्टुरेन्ट तिहार दाइनिङको सभाहलमा हिजो साँझ सम्पन्न भयो। बौद्ध प्रतिनिधि मण्डलको स्वागत लसकुस गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जपानका साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले, जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो।
तत्कालका लागि मञ्चको सहयोग बाट काठमान्डुमा हाउस् वायरिङ तालिमको शुरु भईसकेको कुराको जानकारी पनि दिनुभयो। साथै, आगामी, डिसेम्बर ७ तारिकमा, दिउँसो १२ बजे देखि यसै नाकामेगुरोको तिहार दाईनिङ रेस्टुराँको सभाहलमा, नेपाल सरकारले नेपाल संबतलाई पुनः राष्ट्रिय संबतको घोषणा गरेको उपलक्षमा नेपाल राज्यदूत महामहिम डा. गणेश योन्जन तामाङको प्रमुख आतिथ्यमा अन्तर्कृया कार्यक्रमका साथै कोशी बाढी पीडितका लागि संकलन गरेको रकम राज्यदुतज्युलाई हस्तान्तरण गर्ने कार्यक्रम हुने जानकारि दिनु भयो र जपानवासी सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिज्युहरुलाई उपस्थित हुन हार्दिक् अनुरोध गर्नु भयो।
स्वागत मन्तव्यको क्रममा, गैर-आवासिय संगठन जपानका अध्यक्ष भवन भट्टले, बौद्ध टोलिको स्वागत गर्नु हुँदै नयाँ नेपालमा जति NRN हरुको भूमिका हुन्छ त्येतिकै देशमा बस्ने यहाँहरु जस्तो प्रतिष्ठित बुद्विजिवीहरुको सहकार्यको पनि उत्तिकै ठुलो भूमिका हुन्छ। हामीले NRN मार्फत उठाएको द्वैद्व नागरिकताका प्रस्ताब र NBA मार्फत उठाएको द्वैद्व कर प्रणालीलाई सरकार समक्ष अवगत गराउन पनि अनुरोध गर्दै सम्पूर्ण जपानवासी नेपालीहरु एउटै मुल धारमा आउन पनि अनुरोध गर्नु भयो।
अतिथि आसन बाट बोल्नुहुँदै, धर्मोदय सभाका उपाध्यक्ष एवं संविधान सभा सदस्य माननिय पद्म ज्योतिले, विश्व बौद्ध भातृत्व संघमा नेपालको लु्म्बिनिको विकास एवं विश्व शान्तिको बारे नेपालको प्रतिनिधिको हैसियतले आफुले कतिपय प्रस्ताव राखेको र सो प्रस्ताव विश्व बौद्ध भातृत्व संघमा अनुमोदन भएको कुराको जानकारि दिनु भयो। आफु राजनीतिज्ञ नभएतापनी कसरि माओवादिको तर्फ बाट संविधान सभा सदस्य बन्न पुगेको कुरामा प्रकाश पार्दै, क्रान्तिकारिहरु द्वारा आफ्नै कारखानाको बिस्फोटन बाट करोडौ पैसाको नास भएपनि, नयाँ बन्ने संविधानलाइ सक्दो सहयोग गर्ने इच्छाले नेपाल सरकारको मन्त्रि परिषदले गरेको नियुक्ति स्वीकार गरेको जानकारि दिनुभयो।
यसै क्रममा अतिथि आसन बाट आफ्नो मन्तव्य दिनुहुने, धर्मोदय सभाका उपाध्यक्ष एवं पूर्व सांसद लक्ष्मी दास मानन्धरले, विश्व बौद्ध भातृत्व सम्मेलने विश्व शान्तिको लागी नेपालको योगदानलाई सराहना गरेको जानकारि दिनु भयो। यसपाली तोःक्योःमा आयोजित २४औँ विश्व बौद्ध भातृत्व महा अधिवेशनले नेपाललाइ उपाध्यक्ष पदवि बाट सम्मान गरेको र उक्त सम्मान पदवी माननिय पद्मज्योतिले पाउनु भएको खुसीको खबर सुनाउनु भयो। नयाँ नेपालको उपलब्धिमा प्रकाश पार्नु भई, पहिले जपान सरकारले दिईएका करोडौँ येनको लापरवाहि हुने जस्तो काम अहिले नभएको र धर्म, जाति र भाषा प्रतिको अवहेलना कम हुदै नेपालमा ठूलो परिवर्तनको सुरु भईसकेको जानकारि दिनु भयो।
नेपाली बौद्ध प्रतिनिधि मण्डलको स्वागत कार्यक्रममा, मञ्चका प्रमुख सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले धन्यवाद ज्ञापन गर्नु हुँदै, विश्व शान्तिका प्रतीक बुद्धको जन्मभूमि नेपालवासी सबै नेपाली भएता पनी समानता र समावेशीका शब्दको अर्थको ज्ञानको अभाव बाट बहुसंख्याका नेपालीहरु पीडित रहनु परेको कारणहरुमा प्रकाश पार्दै, अब बन्ने नयाँ संविधान बाट सबै नेपाली जातिको समानता र समावेशीकरण हुने गरी नयाँ संविधान बनाउन सकेमा नेपाली सबैको अपेक्षा लाई सफल पारी शान्तिको पुनर्बहालि हुन सक्ने र उपस्थित अतिथिद्वय सांसदहरु बाट ठूलो योगदान गर्न सक्ने विश्वाश प्रकट गर्नु भयो।
नेवाः जागरण मञ्च जपान र एन आर एन जपानको संयुक्त आयोजनामा भएको कार्यक्रममा, तमुधी जपानका अध्यक्ष दिनेश गुरुङ, नेवाः अन्तर्राष्ट्रीय फोरम जपानका महासचिव डा दिनेश मानन्धर, आदीवासी नेपाली संघ बाट ओम गुरुङ सहित संघसंस्थाका सदस्यहरुको उल्लेखित सहभागिता भएको उक्त कार्यक्रमको दोश्रो चरनमा मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशी द्वारा टोस्ट् गरी नेपाली स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो भने, कार्यक्रमको संचालन मञ्चका कार्यसमिति सदस्य सबिता कक्षपती कपालीद्वारा सफलतापुर्बक संचालन गरिएको थियो।
| पाठक प्रतिक्रिया | |
|
|