


जनयुद्धको १३औं वाषिर्क उत्सव मनाइदै गर्दा दश वर्षको सशस्त्र युद्ध र दुई वर्षको शान्तिपूर्ण युद्ध अवधिमा महिला आन्दोलनबाट प्राप्त उपलब्धिलाई बुँदागत रुपमा संश्लेषण गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
हामीले यसलाई सबै क्षेत्रबाट हेरेका छौं । मुख्यतः राजनैतिक जागरण, संघर्षको चेतनाका क्षेत्रमा सामन्तवादले जसरी महिलाहरुलाई दोस्रो दर्जाको रुपमा बुझेको थियो र महिलाहरुलाई गृहणी तथा बच्चा जन्माउने मेसिनको रुपमा बुझेको थियो, कुनै पनि सामाजिक, आर्थिक क्षेत्रहरुमा स्वतन्त्र रुपमा अगाडि बढ्ने वातावरण दिएको थिएन त्यो सबैलाई क्रस गरेर महिलाहरु सबै क्षेत्रबाट अगाडि बढ्ने चेतना प्राप्त गरेका छन् । सामन्तवादी संकीर्ण चेतनाबाट माथि उठेर स्वतन्त्र रुपमा राज्यसत्ताका सबै क्षेत्रमा सहभागी हुने क्षमता प्राप्त गरेका छन् । यो सबभन्दा ठूलो र महत्वपूर्ण उपलब्धि हो ।
दोस्रो सांस्कृतिक रुपले महिलाहरु सामाजिक, धार्मिक रुपले संकीर्ण र साँघुरो घेराभित्रबाट मुक्त भएर अगाडि बढेका छन् । तेस्रो आर्थिक क्षेत्रमा हिजोसम्म महिलाहरुको नाममा पैतृक सम्पत्ति पनि प्राप्त गर्नसक्ने स्थिति थिएन । दश वर्षको वर्गसंघर्षमा महिला सँगठनले लिएको \'महिला मुक्तिको पहिलो आधार, पैतृक सम्पत्तिमा समान अधिकार\'को नारा हामीले व्यापक रुपमा गाउँगाउँमा स्थापित गर्यौ र पैतृक सम्पत्तिलाई निर्णायक रुपमा कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई जसरी २०६२ सालको केन्द्रीय बैठकदेखि शुरुवात गर्यौ र ग्रामीण इलाकामा हाम्रो स्थानीय सत्तँहरुमा कार्यान्वयन गर्दै पनि अगाडि बढ्यौ, त्यसलाई अहिलेको अन्तरिम संविधानले छोराछोरीलाई समानरुपले पैतृक सम्पत्ति दिने कुरालाई लिखित रुपमा अथवा कानुनी रुपमा लेख्न बाध्य भयो । यहाँसम्म आउँदाखेरी आर्थिक रुपमा पनि महिलाहरुले एउटा अधिकार प्राप्त गरेका छन् । चौथो हिजो सन्तान जन्माउने आमाले तर वंशबाट हेर्दाखेरी बाबुबाट मात्रै नागरिकता पाउने चलनमा परिवर्तन गरेर आमाको नामबाट पनि नागरिकता पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।
पाँचौं माओवादीले जनमुक्ति सेनामा महिलालाई भर्ति गरेकै कारण नेपाली सेनामा पनि महिला सेना भर्ति गर्ने कानुन बनाउन वाध्य भयो र सेनामा महिलालाई भर्ति गरियो । यसरी हेर्दा समग्र क्षेत्रमा सामन्ती पितृसत्तँवादी सोंचबाट महिलाहरुलाई गरिने व्यवहारहरु जति थिए सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रहरुमा त्यो सबै क्रस गर्न सफल भएका छौं । यद्यपि पूर्णतामा नपुगे पनि एउटा खालको धक्का सहित अगाडि बढ्न सफल भएका छौं ।
दश वर्षको लडाईमा सशस्त्र अवस्थाको अनुभूति गर्दै अहिले त्यसको जगमा टेकेर तपाइ विधायक पनि हुनुभएको छ । दश वर्षको र संसदको लडाईंमा के अन्तर पाउनुहुन्छ ?
अहिले संसदको लडाई हामी सबैका लागि एउटा नौलो अनुभूति पनि भयो । हामीले सुन्ने गथ्र्यौं \'संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो ।\' यद्यपि सदनमा जाने बेला त्यसलाई बदल्नु पर्छ, त्यसलाई एउटा संघर्षको मोर्चामा उठाउनुपर्छ र निर्णायक मोर्चाको रुपमा अहिलेको जनअनुमोदित सदनलाई गराउनुपर्छ भन्ने पार्टी निर्देशन हामीलाई थियो ।
तर भित्र पसेर त्यहाँको रुपरंग सबै हेर्दा र शुरुशुरुका अनुभूति हामीलाई साँच्चै नै खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलोको रुपमा बुभ\\mयौं । त्यहाँका पुराना भनिने पुनःस्थापित सांसदहरु जसले खोक्रो रुपमा संसदलाई एउटा आडम्बरको रुपमा प्रयोग गर्न खोजेको पाइयो ।
अहिले सम्झौता र सहमतिको एउटा प्रक्रियाबाट अगाडि बढिरहेको अवस्थामा सात दलमा सहमति हुने र त्यहाँ आएर अनुमोदन मात्र गर्ने जस्तो पनि हामीलाई अनुभूति हुन्थ्यो । तर पछिल्लो चरणमा जब गत वर्ष फागुन ७ गते ज्ञानेन्द्रले एउटा वक्तव्य दिए, त्यसको विरुद्धमा सशक्त मोर्चाको रुपमा संसदलाई प्रयोग गर्यौं । त्यस्तै गौरमा हाम्रा साथीहरुको हत्या हुँदाखेरी हामीले त्यहाँबाटै सबै दलहरुलाई लिएर गौरको छानविनको विषयमा एउटा प्रस्ताव पास गर्न सफल भयौं । यसरी हेर्दा साँच्चिकै जनताको संघर्षको मोर्चाको रुपमा जनअनुमोदित सदनलाई निर्णायक बनाउने प्रयास गर्यौं ।
हिजोको हाम्रो फिल्डको कामकाज र त्यहाँको कामकाज स्वतः फरक हुने कुरा भयो । हिजो हामी फौजी रुपमा अगाडि बढिरहेका थियौं, अहिलेको २ वर्षको अवधीमा हामी शान्तिपूर्ण रुपले सहमतिद्वारा एउटा अग्रगामी निकासको लागि अगाडि बढिरहँदा त्यही विषयलाई अगाडि बढाउने कुरा स्वतः फरक हुन्छ भन्ने हामीलाई लाग्छ ।
सशस्त्र प्रकारको लडाई अप्ठ्यारो कि अहिलेको सदनको लडाई अप्ठ्यारो ?
प्रतिक्रियावादी, अवसरवादीहरु र संशोधनवादीहरुको जमघट सहित हामीले उनीहरुको चेतनालाई बदलेर अग्रगामी रुपान्तरणसम्म लैजाने अवस्था उनीहरुको हिजोकै यथास्थितिवादी सोंच, चिन्तन र तौरतरिकाहरु सबैलाई जनताको आवश्यकता, नेपालको वस्तुगत आवश्यकताअनुसार माथि उठाउने र तिनका सोंचहरुलाई रुपान्तरण गरेर अग्रगामी विकाससम्म पुर्याउन जो पहल गरिरहेका छौं, त्यहाँबाट हेर्दा अहिलेको टेबुलको लडाई नै बढी पेचिलो छ । हेर्दा त हिजोको बलिदानपूर्ण संघर्ष स्वाभाविक रुपमा कठिन हुने कुरा हो तर हिजो एकतर्फी रुपमा वर्गसंघर्षको विचार बोकेकाहरुको बीचबाट प्रतिगामीहरुलाई ठोक्दै जाने कुरा थियो । त्यो सरल थियो । एउटा शिराबाट मात्र अगाडि बढेको थियो भने यहाँ यथास्थितिवादी, प्रतिगामीहरु र संशोधनवादीहरु सबैको विचारलाई केन्दि्रत गरेर अग्रगामी दिशामा लैजाने कुरा नै पेचिलो छ ।
अहिले केही पार्टीहरुले माओवादी सदनमा गैसकेपछि पनि दश वर्षको लडाईको बलिदानीको उपलब्धि केही हुन सकेन, शहीद परिवारको स्थिति यथावतै छ भन्ने खालका भ्रमहरु तल सिर्जना गरिराखेका छन् । यसलाई कसरी खण्डन गर्नुहुन्छ ?
यो कुरा गलत हो । प्रतिगामी, यथास्थितिवादी र षड्यन्त्रकारीहरुले यसरी एउटा भावनामा खेलेर हाम्रा शहीद परिवार, घाइते, अपाङ्गहरु सबैलाई विकेन्दि्रत गर्न चाहन्छन् र माओवादीको जुन अहिलेको राजनैतिक छवि छ त्यसलाई क्रमशः डोमिनेट गर्न चाहन्छन् । शहीद परिवार, घाइते, वेपत्तँहरु र आम जनसमुदाय जो वर्गसंघर्षमा सहभागी भएर आएको छ त्यो वर्गसंघर्षको महान् बलिदानको प्रक्रिया गलत थियो भन्ने मलाई लाग्दैन ।
महान् वर्गसंघर्षभित्रको त्यो महान् बलिदानीले मात्रै अहिले हामी यो स्थितिमा आएका छौं । सामन्तवाद, राजतन्त्र हिजो कति जब्बर थियो । जनतालाई पूरै भेडा बनाएर शासन गरिरहेका थिए । जनताले केही बोल्न पाउने अधिकार थिएन । अहिले हामी राजनैतिक रुपले अग्रगामी निकासको परिकल्पना गरिरहेका छौं र निकट भविश्यमै संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रबल सम्भावना देखिरहेका छौं । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपबाट नेपाललाई अग्रगामी निकाससम्म पुर्याउने सम्भावना र त्यसको सहयोग हामीले जेजति प्राप्त गरेका छौं, त्यो वर्गसंघर्षको उपलब्धिले नै हो । त्यसैले प्रतिक्रियावादीहरु, अवसरवादी तथा यथास्थितिवादीहरुले जतिसुकै भ्रम छर्न खोजे पनि हाम्रो बलिदान अत्यन्त अजर अमर छ ।
वास्तवमा नेपालको राष्ट्र र राष्ट्रियता बचाउन सफल भएका छौं । यही कुरा मैले आम शहीद परिवारहरु, वेपत्ता परिवार, घाइतेहरु, अपाङ्गहरु र आम जनसमुदायलाई स्पष्ट पार्न चाहन्छु ।
तपाईले राष्ट्रियताको कुरा पनि उठाउनु भयो, अहिले राष्ट्रियता संकटमा छ भन्ने राजनैतिक विश्लेषण छ । विदेशी हस्तक्षेप पनि तीव्र रुपमा बढेर गएको छ । यो अवस्थामा महिला सँगठनले खेल्ने भूमिका र योजना के छ ?
हामीले अहिले राष्ट्रियताको जुन खतरा देखिरहेका छौं, यो विषयमा गणतन्त्र र राष्ट्रियताको सवाललाई जसरी हाम्रो पार्टीले सँगसँगै अगाडि बढाउन खोजिरहेको छ । हामीले पनि आम महिलाहरुलाई त्यसमा सहभागि बनाएका छौं । जसरी अहिले नेपालको ६५ भन्दा बढी बोर्डर इलाकाबाट भारतले क्रमशः हस्तक्षेप गरिरहेको छ, अलि बढी सुस्तामा हस्तक्षेप गरेको कुरा आइसकेपछि त्यो इलाकाका महिलाहरुलाई सँगठित गर्ने, सबैलाई राष्ट्रियताको भावनाले जागृत गर्ने र सबै सिमाक्षेत्रमा सिमापारिबाट हुने हरेक गतिविधिको विरुद्धमा त्यहीं प्रतिरोध गर्ने कुरा उठाएका छौं । अर्को कुरा यो समग्र चिजको हल गर्ने भनेको राष्ट्रिय राजनीतिमै परिवर्तन गरेर हो । यो राष्ट्रिय राजनीतिलाई स्थिर बनाउनका लागि अहिलेको अस्थिरता तरलताबाट स्थिरतातर्फ लैजानु पर्छ । त्यो स्थिर हुने माध्यम भनेको संविधानसभामार्फत् संघात्मक लोकतान्त्रिक गणतन्त्र सथापना गर्ने नै हो ।
काँगे्रसले नेतृत्व गरिरहेको सरकारले यति धेरै सिमा मिचिँदा, राष्ट्रभक्त, देशभक्तहरुले सिमाको विषय उठाउँदा पनि भारतीय शासकहरुसित वार्ता गरेर समस्याको हल गर्न सकिरहेको छैन । २०४६ सालदेखि यताका घटनाक्रमहरु हेर्दा हिजोको संसदीय सरकारले पनि सकेन । त्यसैले संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरा र संविधानसभालाई जुनसुकै हालतमा सम्पन्न गर्न देशभक्त र गणतन्त्रवादीहरुको मोर्चा निर्माण गर्ने कुराले नै यो सम्पूर्ण कुराको हल गर्न सक्छ भन्ने कुरा हाम्रो सँगठनले ठहर गरेको छ र त्यो प्रक्रियामा हाम्रा योजनाहरु अगाडि बढिरहेका छन् ।
अहिले आधारइलाकामा धेरै राजनैतिक गतिविधिहरु नभएको जस्तो देखिन्छ । महिला सँगठनले आधारइलाकामा मोडेल कार्यका रुपमा निर्माण भएका भौतिक संरचनाहरु, विकास निर्माणका कुराहरुलाई विकास गर्ने सन्दर्भमा के कस्ता योजना बनाएको छ ?
स्वाभाविक रुपले यतिबेला शहर केन्दि्रत आन्दोलनमा सबै केन्दि्रत भैरहेका छौं । तर आधारइलाकामा हिजो निर्माण भएका मोडेल कामहरुलाई अगाडि बढाउने विषयमा हामीले निरन्तरता दिएका छौं । बरु समग्र केन्द्रीय पार्टी र यहाँको राज्यले त्यसलाई समेट्न सकेको छैन । जति हुनुपथ्र्यो त्यो पुगेको छैन । त्यो हामीले पनि अनुभूति गरिराखेको कुरा हो । तर महिला सँगठनकै कोणबाट हेर्दाखेरी हामीले समग्रबाट नभएपनि अंशबाट हाम्रो दायित्व पूरा गरेका छौं । अहिले हामीले थवाङको फून्टिवाङमा एउटा नमूना महिला उत्पीडन मुक्त गाउँ संचालन गरिरहेका छौं । त्यसलाई हामीले केन्द्रबाटै पाँच लाख दिएर खानेपानीको योजना अगाडि बढाइराखेका छौं ।
गत वर्ष हामीले अन्य स्रोतहरुबाट जुटाएर चार किलोवाटको विद्युत त्यहाँ संचालन गरेका छौं । मोडेल स्कूल, कम्यूनहरुमा पनि केन्द्रबाटै त्यहाँका विद्यार्थीहरुलाई गत वर्षको वाषिर्क उत्सवमा कलम, कापी, डटपेनहरु संकलन गरेर पठाएका थियौं । ती लजिष्टिक पनि थिए । अहिले पनि महिला मन्त्रालय अथवा कहाँबाट हुन्छ त्यहाँ केही राहतहरु दिएर कम्तीमा पनि त्यहाँका विद्यार्थीहरुले सजिलै पढ्न, कम्युनहरु सजिलै संचालन हुन सकुन भनेर हाम्रो सँगठनले प्रयास गर्दैछ । यद्यपि यो पूर्ण कुनै पनि हालतमा हुन सक्दैन । समग्रमा पूर्ण बनाउने कुरा क्रान्ति सम्पन्न भैसकेपछि हुन्छ भन्ने हाम्रो मान्यता हो । हामी क्रान्तिको निरन्तर प्रक्रियामा छौं । त्यो पनि शान्तिपूर्ण रुपबाट अगाडि बढिरहँदा स्वाभावैले हिजोको स्तरबाट सबै चिजहरु केन्दि्रत गर्न नसके पनि त्यहाँ पार्टीले अझै बढी जोड गर्नुपर्छ भन्दै आइरहेका छौं ।
अन्तर्राष्ट्रिय महिलाहरुले जनयुद्धका क्रममा नेपाली महिलाहरुले खेलेको भूमिका र उपलब्धि हेर्न चाहे भने कस्तो पाउलान, कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपाली जनयुद्धमा महिलाहरुको सहभागिताको कुरा विश्वकै लागि उत्कृष्ट रहेको छ । अहिलेसम्मका वर्गसंघर्षका इतिहासमा रुस, चीन, भियतनाम, पेरु लगायतका आन्दोलनमा रहेको महिलाको सहभागिता भन्दा गुणात्मक सहभागिता रहेको छ भन्ने कुरा हाम्रो प्रचण्डपथले पनि संश्लेषण गरेको छ ।
अन्य विदेशी भाइचाराहरुले पनि अनुभूति गरिरहेका छन् । हाम्रो गत पाँचौं राष्ट्रिय सम्मेलनमा थुपै्र विदेशी भाइचारा महिला साथीहरु आउनुभएको थियो । उहाँहरुले सम्मेलनमा गर्नुभएको अनुभूति र सम्मेलनपछि उहाँहरुसँगको विस्तृत छलफलबाट पनि २१औं शताब्दीमा विश्वकै महिला मुक्ति आन्दोलनको सर्वोत्कृष्ट आन्दोलन नेपाली महिला मुक्ति आन्दोलन हो भन्नेमा सहमत छन् । \'तपाईहरु त्यसका नायक बन्नुभएको छ । हामी नेपालबाट थुपै्र कुराहरु सिक्न चाहन्छौं, तपाईहरुले सहयोग गर्नुपर्छ ।
त्यसको लागि अन्तर्राष्ट्रिय रुपमा फोरम निर्माण गर्नुपर्छ\' भन्ने अनुभूति राखेका थिए । यद्यपि हामीले त्यो निर्माण गर्न अझै सकेका छैनौं ।
बिसौं शताब्दीका समाजवादी आन्दोलनमा रहेको महिला सहभागिताबाट हामीले पनि शिक्षा लिन सक्यौं । तर २१औं शताब्दीमा हिजोका बिसौं शताब्दीका आन्दोलनहरलाई समेत क्रस गरेर नेपालको जनयुद्धमा महिलाहरुको सहभागिता रह्यो भन्ने छ । यो समाजवादी आन्दोलनको कोणबाट सोच्नेहरुका लागि मात्र नभएर प्रतिक्रियावादीहरुका लागि पनि जनयुद्धमा महिलाहरुको सहभागिता यो स्तरमा कसरी रह्यो, कसरी महिला प्रभावित भए भन्ने कुरा अनुसन्धानको विषय बनेको छ भन्ने कुरा अध्यक्ष प्रचण्डले बारम्बार राख्दै आउनुभएको छ ।
त्यसबाट हेर्दा यहाँको पितृसत्तावादी समाजभित्र महिलाहरु जसरी थिचोमिचोमा बाँच्न विवश भएका थिए, त्यसबाट एउटा गोरेटोको रुपमा मालेमावाद र प्रचण्डपथले महिला मुक्ति आन्दोलनलाई वर्गसंघर्षसँग जोडेर अगाडि बढ्ने निर्देश गर्यो । यसले नेपाली महिलाहरुमा एउटा प्रभाव छोड्न सक्यो । जस्तो जनमुक्ति सेनामा महिला सहभागिता, युद्धकै क्रममा प्रत्याक्रमणकै क्रममा चालिस प्रतिशत रहन पुग्यो । त्यो त चीनकै इतिहास हेर्दा पनि प्रत्याक्रमण सम्पन्न भैसक्दासम्म ३० प्रतिशत मात्र महिला जनमुक्ति सेनामा सहभागि थिए । त्यो पनि अलि बढी मिलिसियामा भन्ने थियो । त्यहाँबाट हेर्दा साँच्चिकै यो गुणात्मक सहभागिता नै हो । विश्वले यही रुपमा नै बुभ\\न खोजिरहेको छ ।
सञ्चारले महिला आन्दोलनमा खेलेको भूमिकालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ र अब बाँकी दिनमा कसरी भूमिका निभाउनुपर्छ भन्ने लाग्छ ?
सञ्चारक्षेत्रले साच्चै नै दश वर्षको जनयुद्धलाई स्थापित गर्न र प्रचार गर्न धेरै महत्वपूर्ण भूमिका खेलेको छ । सँगसँगै वर्ग संघर्षसँग जोडिएको कारणले महिलामुक्ति आन्दोलनलाई विस्तार गर्ने विषयमा पनि संचार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । जनयुद्धको भीषण प्रक्रियामा अन्य संचार माध्यमसम्म हामी पुग्न नसक्ने अवश्थामा पनि हाम्रो क्रान्तिकारी पत्रकार संघले जुन खालको भूमिका खेल्दै र युद्धमोर्चाभित्रैबाट पत्रकार निर्माण गर्दै अगाडि बढ्यो, यसले अझ बढी भूमिका खेल्यो ।
त्यस्तै अन्तर्राष्ट्रिय पत्रकारहरु जस्तै लि अनेष्टोले वर्गसंघर्षको शुरुमै आधारइलाकामा आएर महिलाहरुको जनयुद्धमा सहभागिताको विषयमा, आन्दोलनको विषयमा गरेको छलफल र विश्वव्यापी बनाउने काम गरिन् यसले धेरै महत्वपूर्ण भूमिको खेल्यो । अन्तर्राष्ट्रिय स्तरमा महिला मुक्ति आन्दोलनको प्रचार लि अनेष्टोले धेरै माथिबाट गरिन् ।
त्यस्तै अन्य विदेशी पत्रकारहरुले पनि भूमिका खेलेका छन् । यसले जनयुद्ध र महिला मुक्ति आन्दोलनलाई विस्तार गर्ने मानेमा यहाँका प्रतिगामी र साम्राज्यवादी मिडियाहरुले जनयुद्धको खरो रुपमा विरोध गरेर महिलालाई गलत संज्ञा दिए तर त्यो सबै अफवाहहरुलाई चिर्दै जनयुद्ध ठिक थियो र यो सँगसँगै अगाडि बढेको महिला मुक्ति आन्दोलन वास्तविक महिला मुक्ति आन्दोलन हो भन्ने कुरा हामीले स्थापित गर्न सकेका छौं । यसमा मिडियाको पनि भूमिका थियो भन्ने नै हो । अहिलेका खुला परिवेशमा संचारक्षेत्रको अझ बढी भूमिका छ । राज्यसत्ताका हरेक अंगहरुमा महिलाहरुलाई सहभागी गराउने कुरामा संविधानअनुसार हाम्रो पार्टीले ४० प्रतिशत लैजाने कुरा गरिरहेको छ, यसलाई ब्यापक रुपमा प्रचार गर्ने र स्थापित गर्ने कुरा र सहभागी गराउन भूमिका खेल्ने कोणबाट वैचारिक विश्लेषण गरेर अगाडि बढ्ने कुराको महत्व रहन्छ र हामीले मिडियासँग यहि अपेक्षा गरेका छौं ।
महिलाहरुका यौनजन्य कुरा खोजिनिती गरेर छाप्ने एउटा तप्काको मिडिया छ । त्यसले महिलाहरुको नग्न फोटो पर्दशन गर्ने पनि गरेको छ, जसले श्रीषाकाण्ड पनि घट्यो । यसलाई कसरी हेर्नुहुन्छ ?
पितृसत्तावादी सोंच र साम्राज्यवादी दर्जाको सोंच भएकाहरुले नै यस्तो गर्छन् । मुख्यतः समाजमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिक र उपभोग्य वस्तुको रुपमा बुझ्नेहरुले यसरी महिलाहरुलाई मात्र दोष दिने गर्छन् ।
उनीहरुको बुझाई, सोंच र चिन्तन जो छ, त्यसले कुनैपनि हालतमा सफलता प्राप्त गर्न सक्तैन । अहिले पनि महिलाहरुलाई विज्ञापनको साधनको रुपमा अत्यन्त नाङ्गो रुपले उपभोग गर्ने चलन अथावा नाङ्गो रुपमा प्रर्दशन गर्ने चलन छ । त्यसको विरुद्धमा पनि हाम्रो सँगठनले जोडदाररुपमा संघर्ष अगाडि बढाइरहेको छ । हामीले त्यस्ता कैयौं अश्लिल साहित्यहरु, पत्रपत्रिकाहरु, अश्लिल भिडियो फिल्मलाई पनि प्रचारात्मक रुपमा गलत हो भनेर लागिरहेका छौं । भेटघाट छलफल पनि गरिरहेका छौं । नेपालको सन्दर्भमा पूँजीवाद र सामन्तवादको हिजडा संस्कृतिले गर्दा यसभित्र एकाध व्यक्तिहरु आउने र प्रचार गर्ने कुरा अझै केही समय रहिरन्छ । तर पनि आम महिला मुक्तिको कोणबाट हेर्दाखेरी हाम्रो सँगठनलगायत अन्यहरुले पनि त्यसको विरोध गर्दै गइरहेका छन् । त्यसलाई पनि हाम्रो संचार मिडियाले महिला आन्दोलनलाई स्थापित गर्ने, महिला पनि पूर्णरुपमा मानव हुन् भन्ने रुपबाट संघर्षमा सहभागी बन्दै आएको छ । यो संचार माध्यमले पनि त्यसलाई क्रस गर्न जोड दिनुपर्छ । हामी सबै एकीकृत भएर गएमा ती सबै किनारा लाग्छन् ।
| पाठक प्रतिक्रिया | |
|
|