


भर्खरै मात्र भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीका विदेश मामीला सम्बन्धी कुटनैतिक सल्लाहकार एन. ए. झाले कान्तिपूर पत्रिकालाई अन्तरवार्ता दिदै भने- \\\"नेपालमा संविधान सभाको चुनावलाई रबर स्ट्याम्प बनाउने काम सात दलको २३ बुंदे सहमतिले गरेको छ । गणतन्त्र कि राजतन्त्र भनेर छान्ने अधिकार जनतालाई दिनुपर्दछ र त्यो संविधानसभाको चुनाव पछि हुनुपर्दछ । साथै नेपाल हिन्दु राज्य हुनु पर्दछ, मधेसको मागलाई सम्बोधन नगरी संविधान सभाको चुनाव गर्नु ठिक हुंदैन । नेपाली काङ्ग्रेसले गिरीजा बुढो हुंदै गएकोले सद्भावना पार्टीसंग सल्लाह गरी नेतृत्व परिवर्तन गर्नु पर्दछ । २३ बुंदे सात दलीय सहमति मार्फत देश माओवादीको हातमा जांदैछ त्यसैले बाम तालमेल बारे एमाले र त्यसका नेता माधव कुमार नेपालले राम्रोसंग बुझेर पाइला चाल्नु पर्दछ ।\\\" आदी आदी । यसरी आज नेपालका हरेक राजनैतिक घटना क्रमहरुमा विदेशी शक्तिकेन्द्रहरुले नजिकबाट स्टेप वाइ स्टेप डिक्टेट गरिरहेछन् । भारतीय जनता पार्टी अमेरिकाको दलाल हो जो नेपालमा सार्थक संविधानसभा र गणतन्त्र चाहदैन र उसले यहांका प्रतिगामी शक्तिकेन्द्रहरुको स्वार्थमा कहिले पश्चिमी त कहिले दक्षिणी कोणबाट गोटी चाल्ने गर्दछ । महान नेपाली जनयुद्धको १३ वर्षगौठको सेरोफोरोमा आठ वाणीका सल्लाहकारको यस्तो अभिव्यक्ति आए लगत्तै फाल्गुण ७ गते ज्ञाने शाहीले वक्तव्य जारी गर्दै भन्यो - \\\"प्रजातन्त्रको फल सबैले उपभोग गर्न पाउनु पर्छ ।\\\" यसको सेरोफेरोमै नेपालका कतिपय प्रतिगामी दरवारीया गुटहरुले तराईको मागहरुलाई सम्बोधन नगरी कुनै हालतमा संविधान सभाको चुनाव गराउनु नहुने वक्तव्य धमाधम सार्वजानिक गरे । ठीक यही बेला संविधान सभाको निर्वाचनको मिति नजिकिदै जांदा संभावित प्रतिगामी ध्रुविकरणलाई मध्य नजर गर्दै बाम शक्ति बीच सके एकता त्यो पनि संभव नभए मोर्चा बन्दी र तालमेलको प्रसंग बडो जोडतोडका साथ चलिरहेको थियो । हुनत केही समय अघि यहि बाम एकता र मोर्चा बन्दीकै प्रसंगमा कम्तीमा मोर्चाबन्दीको संभावना बढ्दै जांदा एमालेले तुरुन्ता तुरुन्त दिल्लीको बक्सिस पाएपछि सो मोर्चा बन्दीको संभावना र आवश्यकतालाई त लत्याएकै थियो । यद्यपी देशी विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रहरुको लगभग एउटा धु्रविकरण हुंदै गएर संविधान सभाको चुनाव हुन नदिने र भैहाले पनि त्यसको परिणामलाई प्रतिगामी विधिद्वारा तुषारापात गर्ने षडयन्त्र भैराखेको र प्रतिगामी र अग्रगामी गणतन्त्रवादी शक्तिहरु बीचको संभावित भिडन्त -कुनै न कुनै रुपमा) को लागि सच्चा देशभक्त, गणतन्त्रवादी, बामपंथी, प्रगतिशील र क्रान्तिकारी शक्तिहरु मोर्चाबद्ध भई आफ्नो विजय, अन्तत जनताको विजय सुनिश्चत गर्नु पर्ने आवश्यकतालाई एमाले भित्रको हिजो ५ औं महाधिवेशन देखीनै टुसाएका कथित सामाजिक जनवादीधारा -सारमा दरवारीया ) को अहिलेको नेतृत्व गर्ने केेपी ओलीले वाइसिएल माथि प्रहार केन्दि्रत गर्दै बाम तालमेलको आवश्यकता नरहेको डंका पिट्यो - बल्खु दरवारबाट । हुंदैजांदा एमालेको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकसम्म आंउदा त त्यहांभित्र यर्थाथमा संविधान सभाको चुनाव नचाहने तत्वहरुको बहुमत नै भएछ । अतः एमालेले संविधान सभा निर्वाचनको सवालमा तालमेल नगर्ने निर्णय गरि नै सक्यो, जो अहिलेको राजनैतिक समिकरणको आधारमा भन्नु पर्दा असाध्यै घातक र प्रत्युत्पादक छ । त्यस्तै यहि फाल्गुण १६ गते लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार बीच वार्ता भई ८ बुंदे सम्झौता भयो । सामान्यतया यि सबै घटनाक्रमहरुलाई हेर्दा देशमा संविधानसभा नचाहने शक्तिकेन्द्रहरुको चलखेल बढी रहेको स्पष्ट हुन्छ । के यि सबै घटनाक्रमहरुलाई एक अर्काबाट अलग्याएर हेर्न मिल्छ ? के यि संयोग मात्र हुन् ? स वाल गम्भीर छ । निश्चित रुपमा अझै पनि संविधान सभाको चुनाव असफल पार्न धुवांधार षड्यन्त्रहरु भई राखेका छन् । नियोजित रुपले विविध बहानामा षडयन्त्रको माखेसाङ्लो बुन्ने काम ७ दल भित्रैबाट हुंदैछ । सामान्यतया दिल्ली र विशेष गरी भारतीय जनता पार्टीको आर्शीर्वादमा यहां विविध रुप रंगको नाटक रच्ने काम किन हुदैछ ? वास्तवमा नेपाली काङ्ग्रेस भित्रको ठूलो हिस्सा सातदलीय २३ बुंदे सम्झौताको विरुद्धमा छ । उसलाई -कांग्रेसलाई) चुनाव चाहिएकै छैन । सुजताहरु त अझ २/४ गौर जन्माउने योजनामा छन् । ठिक यहीबेला सातदल भित्र त्यसमा पनि बामशक्ति भित्र एउटा मजबुत गणतान्त्रिक सिविर बन्नु जरुरी छ । किनकी सामन्तवाद विरुद्धको अन्तिम भिडन्त बांकी छ । यहां एमाले संयुक्त मोर्चामा नआउदा त्यो भिडन्त असफल हुन्छ भन्ने होइन तर बामशक्तिहरुको मोर्चा मजवुद बनाई संविधानसभा मार्फत दिगो शान्तिलाई सुनिश्चित गर्नको लागि सबै बामशक्तिहरु जिम्मेवार बन्नुपर्छ भन्ने हो । प्रतिगामी शक्तिकेन्द्रहरुका षडयन्त्रहरु त जारी नै रहनेछन्, तर संविधान सभाको चुनाव भने ति षडयन्त्रहरुलाई ध्वस्त पार्दै सम्पन्न गर्नै पर्दछ । त्यहि प्रतिवद्धता सहित आज देशभर चुनावको तयारी चलिरहेछ । सकेसम्म आफ्नै पार्टीको बहुमत ल्याउन सबै कस्सिएका छन् । हामी पनि कस्सिएका छौं । निश्चित छ कि संविधान सभाको चुनावको तयारीको गतिसंगै चुनाव विरोधी षडयन्त्रहरु पनि बढ्दै जानेछन् । त्यस्ता तत्वहरुको ध्रुविकरणको स्पष्ट संकेत माथी उल्लेखीत तथ्यहरुले गरेकै छन् । अथवा क्रान्तीसंगै प्रतिक्रान्तीको ग्राफ पनि बढ्दै जानेछ र एउटा निश्चित घटनाविन्दु आउने छ जहां या त प्रतिक्रान्तीले क्रान्तीलाई या त क्रान्त्रीले प्रतिक्रान्तीलाई निल्ने छ तर निश्चित हो क्रान्तीले प्रतिक्रान्तीलाई नै निल्ने छ र क्रान्ती विजित अस्तित्व बोकेर आउने छ । यहि अभिलाषा बोकेर तदनुरुप तयारीमा सच्चा अग्रगामी क्रान्तीकारी शक्तिहरु एकिकृत बन्नु परेको छ । सामान्यतयाः कसले वा कुन पार्टीले बहुमत ल्याउने या नल्याउने भन्ने प्रश्न त रहन्छ नै तर मूख्य त कुन धारा र प्रवृत्ति विजयी हुने भन्ने सवालले निणर्ायक महत्व राख्छ, - अबको संविधानसभाको निर्वाचनमा । संविधानसभाको चुनाव र गणतन्त्रकै कुरा त सबैले गरेका छन् तर सातदलभित्रै राजतन्त्र चाहनेहरु प्रशस्तै छन् जसको नक्कली गणतन्त्रवादी नकाव अवका घटनाक्रमहरुले आफै च्यात्ने छन् । एकादुई बांकी रहे संविधानसभा अघि या पछि अनिवार्य बनेर आउने अग्रगामी र प्रतिगामी शक्ति बिचको भिडन्तमा तिनीहरु ध्वस्त हुने छन् । जे होस् अब विविध बहानामा राष्ट्रिय राजनीतिका प्रमूख मुद्दाहरुलाई विषयान्तर गर्न पाइदैन । आज तराईमा भारतीय जनता पार्टी, सामन्ती दरवारीयाहरु र नेपाली कांग्रेस कै योजनामा गडबढी भइरहेको छ । एउटासंग वार्ता गर्Юयो अर्काे भड्की हाल्छ । सबैसंग वार्ता गर्ने, संझौता गर्ने कुरालाई प्रमूख मुद्दा बनाएर संविधानसभा भाड्न पाइन्न । किनकी \\\"ता कुटे जस्तो गर म रोएजस्तो गर्छु\\\" को यस्तो कार्यनिती कांग्रेसले पटक-पटक प्रयोग गर्दै आइरहेको छ । त्यस्तो गैर जिम्मेवारपूर्ण काम गर्न नेपाली कांग्रेसलाई छुट छैन । यो सबै गडबढीको जवाफदेही नेपाली कांग्रेसले नै बन्नु पर्दछ । माथी भनिसकियो कि संविधानसभाको चुनावमा कुन प्रवृत्तीलाई विजयी गराउने ? सच्चा अग्रगामी क्रान्तीकारी शक्ति या प्रवृत्ती, यथास्थितीवादी शक्ति या प्रकृती या प्रतिगामी ? निश्चितै रुपमा मुलुकमा दिगो शान्ती ल्याउनको लागि सच्चा अग्रगामी क्रान्तिकारी प्रवृत्तीलाई विजयी गराउनु हामी सबैको कर्तव्य हो । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन हुंदै यहांसम्म आउंदा नेपाली जनताले बुझिसकेका छन् कि सच्चा अग्रगामी क्रान्तिकारी शक्ति भनेको नेकपा -माओवादी) नै हो । संविधान सभाको निर्वाचन, गणतन्त्रको स्थापना जस्ता कार्यनीति एजेण्डाहरु माओवादी पार्टीले नै जन्माएको हो । त्यसैले प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर र प्रतिरोध गरौं १ हंसिया, हथौडामा मतदान गरी नेकपा (माओवादी) लाई बिजयी गराऔं । लेखक अखिल नेपाल (क्रान्तिकारी) केन्द्रीय सदस्य हुनुहुन्छ । मितिः- २०६४।११।१७
| पाठक प्रतिक्रिया | |
|
|