६ वटा प्रदेशमा वाम गठबन्धनको दुईतिहाइ

0
5

[ad_1]

काठमाडौँ – पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ। 

प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको छ। ६ वटा प्रदेशमा अत्यधिक स्थानमा विजयी भएको गठबन्धन प्रदेश नं २ मा भने कमजोर देखिएको छ । तुलनात्मक रुपमा अन्य प्रदेशमा कमजोर देखिएको नेपाली काँग्रेस प्रदेश नं २ मा केही बलियो देखिएको छ। त्यस्तै मधेस केन्द्रित शक्ति २ नं प्रदेशमा बलिया देखिएका छन्। 

प्रतिनिधिसभाअन्तर्गत प्रदेश नं १ का २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार २२ स्थानमा विजयी भएका छन्। प्रदेश नं १ मा एमालेले १६ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ। त्यस्तै काँग्रेस चार स्थानमा विजयी भएको छ भने राप्रपा एक स्थानमा विजयी भएको छ। सुनसरी क्षेत्र नं ३ मा मतगणना जारी छ। सो क्षेत्रमा एमालेका भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्प्रर्धा भएको छ । 

प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ। प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ। एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन्। काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ। काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ। 

यसैगरी प्रदेश नं ३ का ३३ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ। गठबन्धनले २७ स्थानमा जित हासिल गरेको छ। एमाले २० र माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ। त्यस्तै नेपाली काँग्रेस पाँच र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ। 

प्रदेश नं ४ को १८ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ। गठबन्धनले १४ स्थानमा जित हासिल गरेको छ। एमालेले ११ र माओवादी केन्द्रले तीन स्थानमा जित हासिल गरेको छ। त्यस्तै प्रदेश नं ३ मा काँग्रेसले एक स्थान मात्र जितेको छ। यसैगरी नयाँ शक्तिले पनि एक स्थानमा जित हासिल गरेको छ। 

प्रदेश नं ५ को २६ प्रतिनिधिसभाका क्षेत्रमध्ये वाम गठबन्धनले १८ स्थानमा जित हासिल गरेको छ। एमाले ११ स्थानमा विजयी भएको भने माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ। त्यस्तै काँग्रेस पाँच, संघीय फोरम एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। 

यसैगरी प्रदेश नं ६ को १२ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ। एमाले छ र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। प्रदेश नं ६ मा काँग्रेसले एक स्थानमा पनि विजयी हुन सकेन। 

प्रदेश नं ७ को प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये वाम गठबन्धन १३ स्थानमा विजयी भएको छ। एमाले १० र माओवादी केन्द्र तीन स्थानमा विजयी भएका छन्। 

त्यस्तै काँग्रेस एक स्थानमा मात्र विजयी भएको छ। प्रदेश नं ७ बाट प्रत्यक्षतर्फ काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामात्र विजयी हुुनुभएको छ। त्यस्तै राजपा नेपालका उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् भने एक स्थानमा मतगणना जारी रहेको छ। 

प्रदेशसभामा पनि बहुमत 

प्रदेशसभाअन्तर्गत प्रदेश नं १ का ५६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार ४७ स्थानमा विजयी भएका छन्। प्रदेश नं १ मा एमालेले प्रदेशसभाका ३७ स्थानमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले १० स्थानमा जित हासिल गरको छ । प्रदेशसभामा काँग्रेस सात, संघीय समाजवादी फोरम एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। 

प्रदेश नं २ को प्रदेशसभाका ६४ क्षेत्रमा वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। 

प्रदेश नं ३ को प्रदेशसभाका ६६ क्षेत्रमा वाम गठबन्धनले ५७ स्थानमा जित हासिल गरेको छ । एमाले ४३, माओवादी केन्द्र १४ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस सात, नयाँ शक्ति एक र नेमकिपा एक स्थानमा विजयी भएका छन्। 

प्रदेश नं ४ को प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरको छ । यस क्षेत्रमा एमालेले १६ र माओवादी केन्द्रले आठ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै काँग्रेसले पाँच, नयाँ शक्तिले एक, राष्ट्रिय जनमोर्चाले दुई र स्वतन्त्रले एक स्थानमा जित हासिल गरेका छन् । तीन स्थानमा मतगणना जारी रहेको छ। 

प्रदेश नं ५ को प्रदेशसभाका ५२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । गठबन्धनले ४३ स्थानमा जित हासिल गरेको छ। एमाले २९ र माओवादी केन्द्र १४ स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेसले छ, संघीय फोरमले तीन स्थानमा जित हासिल गरेका छन्। 

प्रदेश न। ६ को प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। गठबन्धनले २३ स्थानमा जित हासिल गरेको छ। एमालेले १४ र माओवादी केन्द्रले नौ स्थानमा जित हासिल गरेको छ । नेपाली काँग्रेसले ६ नं प्रदेशको एउटा मात्र प्रदेशसभामा जित हासिल गरेको छ। 

यसैगरी प्रदेश नं ७ को प्रदेशभाका ३२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत हासिल गरेको छ। गठबन्धनले २७ स्थानमा जित हासिल गरको छ। ७ नं प्रदेशमा एमाले १७ र माओवादी केन्द्र १० स्थानमा विजयी भएका छन्। यस्तै काँग्रेसले चार, राजपा नेपालले एक स्थानमा जित हासिल गरेका छन्। रासस

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here