

३० फाल्गुन/ पन्ध्र दिन अगाडि अपहरणमा परेका विराटनगर २२ का सन्तोष कार्कीको रिहाईको माग गर्दै सीमा क्षेत्रका स्थानीयवासीहरुले बिहीवार विराटनगर भन्सार बन्द गरेका छन् । विराटनगर २२ रानी निवासी २८ वषर्ीय कार्कीको अपरहणमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरे लगत्तै छाडेको भन्दै स्थानीयवासीले विरोध जनाउदै आएका । स्थानीयवासीले अपरहणकारीलाई पक्राउ गर्नु पर्ने र अपहरित कार्कीको रिहाईको लागि प्रयास गर्नु पर्ने माग गर्दै भन्सार बन्द गरेका हुन् । विराटनगर भन्सारको तीन वटै गेटद्वार बिहीवार विहान ८ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएपछि भन्सारको असुलीमा प्रभाव परेको छ भने निकासी र पैठारीमा समस्या आएको छ । विराटनगर भन्सारका प्रमुख श्याम दहालले २ करोड राजश्व संकलन हुने भन्सारमा स्थानीयवासीको अबरोधले असुली प्रभावित भएको बताउनु भयो । स्थानीयवासीहरुले भन्सारका तीन वटै द्वार बन्द गर्नुका साथै कुनै पनि यातायातका साधान चल्न दिएनन् । मोरङ प्रहरीका उपरिक्षक योगेन्द्र कटुवालले भने पीडित पक्षबाट निवेदन दर्ता भए अनुसार प्रदिप यादवलाई पक्राउ गरी कार्वाही भई रहेको जानकारी दिनुभयो । उहााले प्रशासनले असहयोग गरेको आरोप गलत र मित्थ्या भएको भन्दै संयमीत हुन स्थानीयवासीलाई आग्रह गर्नुभयो । भन्सार नाका बन्द भएपछि कच्चा पदार्थ बोकेर विराटनगर आउन लागेका तीन सय मालबाहक ट्रक भारतको सीमा क्षेत्र बथनाहमा अलपत्र परेर बसेका छन् । भन्सार कार्यालयका अनुसार बुधबार बेलुकासम्म रहेका माल वाहक ट्रक र ट्याङकरहरुको भने जााच पास गरि सकिएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|