

काठमाडौबाट भैरहवातर्फ गइरहेको एक यात्रु बस १२ बजेतिर त्रिशुलीमा खस्दा १६ बढीको मृत्यु भएको छ भने तीन दर्जन बढी घाइते भएका छन् । लु१ख ३८०३ नम्बरको बस नारायणगढ मुग्लिन सडक खण्डको खहरे खोलाबाट त्रिशुली नदीमा खसेको थियो । प्रहरीले दिएको जानकारीअनुसार १३ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । नारायणगढबाट झण्डै ३५ किलोमिटरको दूरीमा रहेको एक सय मिटर अग्लो खहरे भिरबाट बस खस्दा यात्रुहरुको नदीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा काठमाडौं घर भएका २८ वर्षिय सुमन लामा, सिद्धार्थनगर नगरपालिका रुपन्देहीका होमबहादुर गुरुङ, पाल्पा तानसेन घर भएका डाक्टर भरत श्रेष्ठ र पार्पाकै पदमबहादुर सारु, नवलपरासीका लोकबहादुर कुमालको सनाखत भएको छ । त्यस्तै उपचारका क्रममा भैरहवाका होमबहादुर गुरुङको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले अझै दर्जन यात्रु बेपत्ता रहेको जनाएको छ। उद्धार कार्य जारी रहेको छ। घटनामा घाइते २५ जनाको भरतपुर अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसको आधा भाग नदीमा र आधा भाग बगरमा रहेको छ। बेपत्ता यात्रुको खोजी भइरहेको छ ।