

सवारी भाडामा ४५ प्रतिशत सहुलियतको माग गर्दै विद्यार्थीले अर्घाखाची र कपिलवस्तुमा गरेको यातायात बन्द आज दिउसोबाट साचालनमा आएको छ । अर्घाखाचीको सन्धिखर्क र कपिलवस्तुको तौलिहवामा भएको सर्वपक्षिय वार्तामा विद्यार्थी र व्यवसायीबीच कुरा मिलेपछि यातायात सुचारु भएको हो । कपिलवस्तुमा विद्यार्थीलाई भाडाका गाडीमा ४५ प्रतिशत छुट दिने सहमति भएको छ । त्यसैगरी अर्घाखाचीमा सन्धिखर्कबाट काठमाडौ जाने प्रत्येक बसमा ४ जना विद्यार्थीलाई ४५ प्रतिशत र अन्य क्षेत्रमा चल्ने बसमा चढ्ने विद्यार्थीलाई परिचय पत्र हेरेर ४५ प्रतिसत छुट दिने सहमति भएको छ । त्यस्तै अर्घाखाचीका कच्ची सडकमा चल्ने जीपले १५ प्रतिशत र सन्धिखर्कबाट बुटवल र कृष्णनगरका लागि छुट्ने एउटा जीपमा १ जना विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यवसायी सहमत भएका छन् । बन्द खुलेपछि कपिलवस्तु र अर्घाखाचीका सबैजसो सडकमा मोटरगाडी चलेका छन् । जनजीवन सामान्य बन्दै गएको छ । अर्घाखाची कपिलवस्तु र पाल्पाको बन्द खुलेपनि गुल्मीको बन्द भने अझै पनि खुलेको छैन । बन्दका कारण गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । गुल्मी जिल्लाका सबैजसो सडकमा मोटरगाडी चलेका छैनन् । दैनिक उपभोग्य सामग्रीको अभाव झन् बढ्दै गएको छ ।