

नेपालको ऐतिहासिक प्रथम राष्ट्रपतिमा डा. रामबरण यादव बिजयी हुनु भएकोछ । आजको संबिधानसभाको वैठकमा सभा अध्यक्षले अन्तरिम संबिधानको धारा ३६ को ख बमोजिम डा. यादवलाई राष्ट्रपति र परमानन्द झालाई उपराष्ट्रपतिमा बिजयी भएको घोषणा गर्नु भएको हो । संबिधानसभाका अध्यक्षले राष्ट्रपतिको घोषणा गरे लगत्तै सभाहलमा राष्ट्रपतिलाई बधाई दिनेको घुँईचो लागेको थियो । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भटृराईले पनि सभाहलमै राष्ट्रपतिलाई बधाई दिनु भएको थियो । प्रथम राष्ट्रपतिलाई बधाई तथा स्वागतकोलागि बैठक कक्ष बाहिर सभासद् तथा पत्रकारहरुको ठूलो घुईचो लागेको थियो भने राष्ट्रपतिलाई बाहिर निकाल्न सुरक्षाकर्मी र मर्यादापालकलाई हम्मे परेको थियो । पत्रकारहरुले राष्ट्रपतिसंग प्रतिकि्रया लिन कोशिस गरेपनि सफल हुन सकेका थिएनन् । प्रथम राष्ट्रपति र उपराष्ट्रपतिलाई बग्गीमा राखी नगर परिक्रमा गराउने कार्यक्रम रहेको स्रोतले बताएकोछ । आजको संबिधानसभाको वैठक बुधवार ११ बजे बस्ने गरी सम्पन्न भएकोछ ।