


१९ जूलाई आइतबारका दिन विगत बर्षहरुमाझै यस बर्ष पनि वेलायत भरि छरिएर रहेका लिम्बूहरुको भेला आसफोर्डमा सम्पन्न भयो । भेलाले किरात याक्थुङ चुम्लुङ वेलायतको नयाँ कार्य समितिलाई औपचारिक नेतृत्व हस्तान्तरण गर्दै सुखद बार्षिक विविक्यू पार्टी सम्पन्न गर्यो । संयोगवस नेपालको इतिहास मै पहिलो पटक राष्ट्रपति र उपराष्ट्रपतिको लागि निर्वाचनको ऐतिहासिक दिनमा सम्पन्न उक्त कार्यक्रममा अप्रत्यासित रुपमा महिला नेतृ सभासद डा। आरजु देउवाको उपस्थिती भएकोले उहाँलाई प्रमुख अथिति र वेलायतका लागि नेपाली राजदुत मुरारीराज शर्मा विशेष अथिति रहनु भएको थियो । महिला समस्या विषयक बैठकको लागि वेलायत आएको वेला नेपाली दाजुभाई, दिदीबहिनीहरुसँग भेट गर्न पाउदा आफूलाई अत्यन्तै खुसि लागेको कुरा डा। देउवाले बताउनु भयो । झण्डै ४ हजार नेपालीहरुको उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै राजदुत शर्माले वेलायतमा नेपालीहरुको उपस्थिती र रचनात्मक कार्यले अरु धेरै सम्भावना रहेको विचार ब्यक्त गर्नुभयो । उक्त विशाल भेलामा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई सम्मान पनि गरिएको थियो । वेलायत भ्रमणमा आउनु भएका साहित्यकार धनहाँङ लिम्बू, सभासद देउवालाई चुम्लुङका पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूले कदर पत्र प्रदान गर्नु भयो । त्यस्तै गरि मिक्फूला लाजे इङघङका सम्पादक टंक बनेम, अनलाइन विश्व वेभक्याम नेपाली कविता प्रतियोगिता सम्पन्न गर्राई नेपाली साहित्यमा नयाँ आयाम थपे वापत अनलाइन नेपाली साहित्य मंचका सम्पादक विश्वास दीप तिगेला, उच्च शिक्षा अध्यान गरि विगत केही महिना देखि काठमाडौं बीर अस्पतालमा डाक्टरको रुपमा कार्यरत भान्जा मिलन सुब्बालाई पनि किरात याक्थुङ चुम्लुङ नेपालका उपाध्यक्ष नरकुमारी लिम्बूको हात बाट कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा वेलायतका विभिन्न संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । भेलालाई फक्स्टोन टाउन काउन्सिलर धन गुरुङ, किरात याक्थुङ चुम्लुङ काठमाडौ जिल्ला अध्यक्ष कृष्णा सुब्बा लगायतले सम्बोधन गर्नु भएको थियो । नवंनिर्वाचित चुम्लुङका अध्यक्ष रिटायर्ड क्याप्टेन बम बहादुर लिम्बूको नेतृत्वमा बनेको नयाँ कमिटीलाई फूलमाला लगाई दिएर पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूले कार्यभार औपचारिक हस्तान्तरण गर्दै शुभकामना दिनु भयो साथै वहाको पालामा कमिटी भित्र वा बाहिर रहेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसको लगतै नबनिर्वाचित अध्यक्षले पूर्व कमिटीका अध्यक्ष, महासचिव लगायत कमिटीका सदस्यहरुलाई फूलमाला दिएर विदाई गर्नुभयो । उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै आफ्नो कमिटीले पनि सोहि पदचाप पछ्याउने र अरु यथासम्भव काम गर्दै लिम्बूहरुको साझा आस्थालाई सहि नेतृत्व गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । लिम्बूवान स्वायत्त राज्य प्राप्ति अर्न्तर्गतको शैक्षिक जागरण कार्यक्रमको लागि अघिल्लो कमिटीले गरेको सहयोगलाई निरन्तरता दिने बताउनु भयो । आगामी ९ अगष्टमा चुम्लुङले पहिलो पटक यलम्बर रनिड्ग कप फूटबल प्रतियोगिता आयोजना गरेको सम्बन्धमा पनि सबैलाई जानकारी दिनु भयो । लिम्बू भाषाका गीत, हाक्पारे, पालामबाट शुरु भएको कार्यक्रमको बीचबीचमा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरु देखिनै ढोल नाचको आकर्षण रहेको थियो भने नानीहरुको डोरि तान्ने प्रतियोगिताले रोचकता थपेको थियो । साहित्यकार धनहाँड लिम्बू आफूले लेखेको लिम्बूवानका कथाहरु पुस्तक हस्ताक्षर गर्दै बिक्रिवितरण गरिरहेका थिए भने यस बर्ष सामुहिक धाननाचमा अत्यन्तै ठूलो सहभागिता थियो । लिम्बू भेषभूषालाई प्रोत्साहन गर्ने उद्देश्यले लिम्बू पोशाक प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा कृणा लिम्बू प्रथम हुनु भएको थियो । उपस्थित पाहूनाहरु पनि च्याब्रुङ भिरेर मच्चिमच्चि नाचे पछि सास्कृतिक विभागका प्रमुख सेरु लिम्बूले यसबर्षपनि धेरै धन्यवाद बटुले । लाखौ नेपाली रहेको अनुमान गरिएको वेलायतको जनगणना गर्न सेन्टर फर नेपाल स्ट्डिजका निर्देशक डा। गोविन्द प्रसाद दाहल आफ्नै सानी छोरीको सहयोग लिइ गणनाको फाराम वितरण गर्न र नाम टिपाउन दिनभर ब्यस्त थिए । भेलाका सम्पूर्ण क्रियाकलाप वेलायतका नेपालीहरु माझ चर्चित फोटोग्राफर मिलन तमुले क्यामेरामा कैद गरेका थिए । चुम्लुङका पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पूर्व महासचिव राजेन लिम्बूले संचालन गरेका थिए । स्मरण रहोस चुम्लुङ वेलायतको कार्यवधि २ बर्ष रहे पनि अघिल्लो कमिटी दोस्रो पटक पनि चुनिएको थियो र ४ बर्षे कार्यकाल पूरा गरेको थियो ।