
चालक हत्याको विरोधमा पूर्वाञ्चलका यातायात मजदुरहरूले आज पनि पूर्वाञ्चल बन्द गराएका छन् ।
सुरक्षाको माग गरी उनीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् । शनिबार दिनभर पनि उनीहरूले धरानलगायत पूर्वका प्रमुख सहरहरूमा गाडी बन्द गराएका थिए । आइतबार पनि गाडी नचल्दा यात्रुहरू मर्कामा परेका छन् । गाडी नचलेका कारण पूर्वी पहाडका जिल्लाहरूमा दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको छ ।
मजदुरहरू विरोधमा उत्रिएपछि तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सुनसरी, सिरहा, सर्लाहीलगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका कुनै पनि गाडी चलेका छैनन् । बिहीबार राति धनकुटाको हिलेबाट काठमाडौँ आउँदै गर्दा ना २ ख ४५ क ८६ नम्बरका गाडीका चालक झापाका कृष्ण भुजेललाई सर्लाहीमा लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।
उता सगरमाथाको सिराहा र सप्तरीमा भने फाटफुट रूपमा यातायात सञ्चालनमा आएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जानाएको छ । सर्लाहीमा हत्या गरिएका सवारीचालक कृष्ण भुजेलको परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, दोषिलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने, राष्ट्रिय सडकलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग राखि व्यवसायी र मजदुरहरूले आजदेखि थप आन्दोलन थालेका हुन् ।
| पाठक प्रतिक्रिया | |
|
|