

सात वर्षअघि लामो समयको शल्यक्रियापश्चात् टाउको छुट्याइएका जुम्ल्याहामध्येकी जीवित आठ वर्षीया जमुनालाई फेरि शल्यक्रियाका लागि सिङ्गापुर पुर्याइएको छ ।
यसपटक उनको टाउकोमा रहेको प्वाल टाल्न शल्यक्रिया गरिने सिङ्गापुरबाट प्रकाशित स्ट्रेट्स टाइम्सले जनाएको छ । सात वर्षअघि गङ्गा र जमुनाको जोडिएको टाउको ९७ घण्टा लगाएर शल्यक्रियाबाट छुट्याउँदा जमुनाको टाउकोमा रहेको प्वाल पातलो छालाले मात्र ढाकिएको थियो । त्यस शल्यक्रियापछि गङ्गाको मस्तिष्कमा क्षति पुगेको थियो भने जमुना हिड्न असमर्थ भएकी थिइन् ।
सन् २००५ मा ती जुम्ल्याहालाई थप स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर पुर्याइँदा त्यहाँका चिकित्सकहरूले तिनीहरूको शल्यक्रिया गर्ने बेला भइनसकेको बताएका थिए । गङ्गाको गत साउन १४ गते काठमाडौं मोडल अस्पतालमा श्वासप्रश्वासमा कठिनाइ भएपछि मृत्यु भएको थियो । उनको त्यतिबेला निमोनिया र मस्तिष्क ज्वरोको उपचार भइरहेको थियो ।
सिङ्गापुरमा गङ्गा-जमुनाको जोडिएको टाउको शल्यक्रियामार्फत छुट्याउने चिकित्सकहरूको टोली प्रमुख किथ गोहले जमुनाको प्वाल परेको टाउको क्रेनियोप्लास्टी प्रक्रियाबाट टाल्ने आफ्नो योजना रहेको तर उनलाई सबैभन्दा पहिला परीक्षणको खाँचो रहेको बताएका अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|