

वन तथा भू-संरक्षण मन्त्री किरण गुरुङले कोरियाली जनताले स्वतन्त्र रूपले बाँच्न र अगाडि बढ्न पाउनुपर्ने बताउनुभएको छ । कोरियाली श्रमिक पार्टीको ६३औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (माले)द्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री गुरुङले दुई देश र जनताका बीच रहँदै आएको सम्बन्ध अगामी दिनमा अझ बलियो र सुदृढ हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुई कोरियाबीचको एकीकरण हुने सपना चाँडै साकार होस् भनी कामना पनि गर्नुभयो । नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जोङ योङ छोलले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोमा कोरियाली जनता खुसी रहेको बताउनुभयो ।
समृद्ध र शान्तिपूर्ण नेपाल निर्माण गर्न कोरियाले नेपाललाई निरन्तर सहयोग गरिरहने प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो-\\\'नेपाली जनताको पक्षमा कोरियाली जनता सदैव रहिरहने छन् ।\\\'
नेकपा -माले)का महासचिव सिपी मैनालीले कोरियाले स्वतन्त्रतापूर्वक रहन पाउनुपर्ने र दुई कोरिया एकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा किम इल सुङ राष्ट्रिय प्रतिष्ठान नेपालका सचिव फणीन्द्रराज पन्त, पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई र राष्ट्रिय प्रेस क्लब नेपालका अध्यक्ष रामकृष्ण कर्माचार्यले कोरियाली जनताको सङ्घर्षमा ऐक्यबद्धता जाहेर गर्दै कोरियाली जनताको एकीकरण हुने प्रयास सफल होस् भन्ने कामना गर्नुभएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|