

नेपाल कम्युनिष्ट पार्टी माओवादीको सातौँ महाधिवेशन आगामी छ महिनाभित्र हुने भएको छ । पार्टीको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले पार्टीको महाधिवेशन आगामी चैतसम्ममा गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।
पार्टीका केन्द्रीय सदस्य हरिभक्त कँडेल \'प्रतीक\'काअनुसार, अध्यक्ष प्रचण्डले राष्ट्रिय कार्यकर्ता भेला यही कात्तिक महिनाभित्र र महाधिवेशन चैत महिनाभित्र गरिसक्ने प्रस्ताव पेस गर्नुभएको छ ।
शुक्रबार सुरु भएको बैठकमा शनिबार केन्द्रीय सदस्यहरूले अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि आफ़्ना धारणा पेस गर्ने क्रम सुरु भयो ।
शनिबारको बैठकमा सचिवालयका सबै सदस्य तथा करिब एक दर्जन केन्द्रीय सदसयले आफ़्ना धारणा प्रस्तुत गर्नुभयो ।
बैठकमा धेरै केन्द्रीय सदस्यले पार्टीको कार्यदिशा अहिलेको उपलब्धिलाई प्रयोग गर्दै नयाँ जनवादी क्रान्ति सफल पार्ने पक्षमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|