

बडादसैं अन्तर्गत सप्तमी तिथि आज मुलुकभर परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दुर्गाभवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसै घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । सो फूलपाती धादिङको जीवनपुरबाट दसैंघरमा पुजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा छ ।
हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र उच्चपदस्थ कर्मचारी, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र साँस्कृतिक नाचगानसहितको लावालस्कर जमलबाट हनुमानढोका प्रस्थान गर्छ । घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भए पनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ ।
फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ़्नो मूलघरबाट टाढा रहेका व्यक्ति सपरिवार बसेर दुर्गाभवानीको टीका थाप्न आआफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|