

बडादसैँको नवौँ दिन आज अधिराज्यभरि शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन छ । यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।यस पर्वमा कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ । हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|