

मलेसिया स्वतन्त्र भएको उपलक्ष्यमा आउँदो असोज २९ गतेबाट मलेसियामा सञ्चालन हुने मर्डेका कपको ४० औं संस्करणमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भोलि बिहीबार हुने भएको छ ।
पूर्व नेपाली फुटबलर कृष्ण थापाको प्रशिक्षणमा रहेका खेलाडीहरुबाट २० सदस्यीय अन्तिम टोली छनौट भैसकेको र तिनीहरुको घोषणा भोलि हुने अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताउनु भयो ।
नेपाली टोलीको घोषणा मंगलबार गर्ने भनिएतापनि प्रशिक्षक कृष्ण थापा पोखरामा रहनु भएकाले हुन नसकेका हो ।
एसियाकै पुरानो तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा रहेको मर्डेका कपमा नेपालले पहिलो पटक सन् १९८३ मा सहभागिता जनाएको थियो ।
मलेसिया फुटबल संघले आयोजना गर्ने मर्डेका कपमा सहभागी हुन नेपाली राष्ट्रिय फुटबल टोली असोज २७ गते त्यसतर्फ प्रस्थान गर्ने एन्फाका कोषाध्यक्ष विराट जंग शाहले बताउनुभयो ।
नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो समयमा भारतको हैदरावादमा एएफसी च्यालेन्जकपमा सहभागितापछि अहिले मर्डेका कपमा खेल्न जान लागेको हो ।
हैदरावादमा म्यान्मार र उत्तर कोरियासँग पराजित नेपाली टोलीले श्रीलंकालाई हराएको थियो । मर्डेका कपमा राम्रो नतिजा निकाल्ने लक्ष्य सहित प्रशिक्षणमा रहेको खेलाडी र सहभागी अन्य मुलुकको वर्तमान प्रदर्शनलाई विश्लेषण गर्दा पनि सेमिफाइनलसम्मको यात्रा सुनिश्चित देखिएको प्रशिक्षक कृष्ण थापाको भनाइ रहेको छ ।
नक आउटका आधारमा हुने मर्डेका कपमा नेपालका अलावा बंगलादेश, म्यान्मार, भियतनाम, मलेसिया, सेरोलियन, अफगानिस्तान र काजकिस्तान सहभागी हुनेछन् ।
| पाठक प्रतिक्रिया | |
|
|