

नेपालको साँस्कृतिक झलक दिई नेपाल भ्रमण गर्न अभिप्रेरित गराउने उद्देश्यले गणतन्त्र कोरियाको योन्देरी गाउँमा नेपाली साँस्कृतिक गाउँ स्थापना गरिने भएको छ । बौद्ध धर्मावलम्बीहरुका लागि एसियाकै पवित्र स्थलको रुपमा निर्माण गरिने सो गाउँमा लुम्बिनीको झलक, स्वयम्भू स्तूपालगायत विविध साँस्कृतिक पहिचान रहनेछ ।
सो गाउँमा नेपाल पर्यटन सूचना केन्द्र स्थापना गर्ने सम्बन्धमा नेपाल भ्रमणमा आएको कोरियाली टोली र नेपाल पर्यटन बोर्डबीच मंगलबार राजधानीमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कोरियाको इन्जे काउन्टी नगरका मेयर पार्क साम रेक र बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सन् २००९ को मे महिनाबाट सञ्चालनमा आउने सो गाउँ स्थापना कार्यक्रममा इन्जे नगरले भौतिक पूर्वाधार तयार गर्ने र बोर्डले सूचना केन्द्रमा नेपाल सम्बन्धी सूचना सामग्री उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ ।
हस्ताक्षर समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हाल बाषिर्क २० हजारको हाराहारीमा कोरियाली पर्यटकहरुले नेपाल भ्रमण गर्ने गरेकोमा सो गाउँ स्थापनापछि पर्यटक आगमनमा दोब्बर बृद्धि हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले सन २०११ मा नेपाल पर्यटन वर्ष मनाउन लागिएको बताउँदै कोरियाबाट नेपालसम्म सिधा हवाई सम्पर्क कायम गर्न आग्रह गर्नुभयो ।
इन्जे काउन्टीका मेयर रेकले योन्देरी गाउँमा वर्षेनी १५ लाख पर्यटक जाने गरेकोमा नेपाल साँस्कृतिक गाउँ स्थापनापछि अझ पर्यटक संङ्ख्या बढ्ने र त्यसको प्रभाव नेपालमा कोरियाली पर्यटकको आगमनमा पनि बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा कोरियाको अन्तरराष्ट्रिय मैत्री क्लबका अध्यक्ष किम सोङ साङले विश्वमा ३० हजार सदस्य रहेको सो क्लबले संस्कृति, शिक्षा, व्यापारमा सहयोग आदानप्रदान गर्दै आएको र नेपालमा पनि यस किसिमको सहकार्य गरिने जानकारी दिनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|