

शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा \'प्रभाकर\' ले सेना समायोजन राष्ट्रिय महत्वको विषय भएकाले विशेष समिति निर्माण गरेर सेना समायोजनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
कैलालीको गेटा विमानस्थलमा बुधबार आयोजित पत्रकारसम्मेलनमा मन्त्री शर्माले बिहीबारदेखि सेना समायोजनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो।
एक प्रश्नको जवाफमा उहाँले शान्तिसम्झौताबमोजिम सेना समायोजन हुने स्पष्ट पार्दै यस सम्बन्धमा नेपाली काङ्ग्रेसले विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउनुभयो ।
एक अर्को प्रश्नको जवाफमा उहाँले शान्तिसम्झौताबाट नेपाली काङ्ग्रेस भाग्छ भन्नेमा आफूलाई विश्वास नभएको बताउनुभयो ।
सेना समायोजनका लागि गठन हुने विशेष समितिमा सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधिहरु सदस्य रहने जानकारी पनि मन्त्री शर्माले दिनुभयो ।
मन्त्री शर्मासहितको टोलीले कैलालीको तालबन्दमा रहेको माओवादी सेनाको क्याम्पको निरीक्षण गरेको छ ।
मन्त्री शर्माको टोलीमा नेकपा (माओवादी) सेनाका प्रमुख नन्दकिशोर पुन (पासाङ), डेपुटी कमाण्डर एवम् सभासद् वर्षमान पुन (अनन्त) र अर्का डेपुटी कमाण्डर चन्ददेव खनाल (बलदेव) समेत संलग्न हुनुहुन्थ्यो ।
| पाठक प्रतिक्रिया | |
|
|