

क्यालेण्डरमा नयाँ वर्ष पल्टिएको छ
कवि हृदयले एउटा वर्ष पार गरेको छ
मान्छेले मान्छेलाई चिथोर्न तम्सिएका
मान्छेका विभत्स तस्वीरहरू लेखेर
मान्छेका डरलाग्दा चित्रहरू खिचेर ।
चोइटिएको वस्तीमा पीडाको दाँइ हाल्नेहरूप्रति
सल्किएको छाप्रोमा उपहासको राँको बाल्नेहरूप्रति
बिद्रोहमा जुरुक्क उठेर
भावनाको थुम्कातिर चढेको थियो कलम
प्रत्येक नयाँ वर्षहरूसँग सौहादर्ताको भीख मागेर
प्रत्येक नयाँ वर्षहरूसँग सदाचारको अञ्जुली थापेर
प्रत्येक नयाँ वर्षहरूसँग शान्ति र मेलमिलापको प्रार्थना गरेर
पट्टल कसेको थियो कलम
त्रासद युगको अन्त्य होस् अब त
नयाँ वर्षसँग खुस्खुसाएथ्यो कलम
मेची, काली र लेक बेंशी हाँसेको बेला
नयाँ वर्षसँग मुस्कुराएथ्यो कलम
हिमाल झुकेको बेला पहाड दुःखेको बेला
तराई रोएको बेला सुक्सुकाएथ्यो कलम ।
धेरै नयाँ वर्ष वितिसकेका छन् रहरको धुनी बालेर
विश्वासको मूढा जखी आस्थाको पिड्कन तापेर
अब प्रार्थना हैन, अनुनय, विनय हैन, भीख हैन, माग हैन
डटेर प्रतिक्रिया खोज्छ कलम नयाँ वर्षसँग
फेरि पल्टिन्छ, पल्टिन्न त्रासद अध्याय ?
फेरि दोहोरिन्छ, दोहोरिन्न इतिहास ?